काठमाडौँ, २७ चैत । भ्रष्टाचारको नारा लगाएर राजनीतिमा उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापतिलाई बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ । अडियो बाहिरिएसँगै श्रेष्ठ सांसद र पार्टीबाट निलम्बनमा परेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति लामिछानेलाई बुझाउनुपर्ने भन्दै २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको हो । श्रेष्ठ समानुपातिक सांसद हुन् । रास्वपाले घटनाबारे छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा साधारण सदस्यका हैसियतमा कुनै पनि काम कारबाही नगर्न नगराउन पार्टीले श्रेष्ठलाई निर्देशन दिएको छ ।
श्रेष्ठले मन्त्री बन्नका लागि आफूलगायतका विश्वास पात्रमार्फत् सभापति लामिछानेलाई २ करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग पैसा मागेको अडियो आइतबार सार्वजनिक भएको हो ।
अडियोमा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भागमा परेको उल्लेख गर्दै प्रसाईंलाई २ करोड रूपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् । प्रसाईंले २ करोड रूपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने र मिलेर काम गर्ने सर्त राखेको अडियोमा सुनिएको छ ।
रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । श्रेष्ठले मेडकल व्यवसायी प्रसाईंसँग मन्त्री बन्न २ करोड रकम चाहिने भन्दै रकम मागेको अडियो आइताबार सार्वजनिक भएपछि उनलाई पार्टीले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।
पार्टीका महामन्त्री मुकुल ढकालले आइतबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनि टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त संवादबारे सत्य तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिएको उल्लेख छ ।
साथै छानबिन पूरा नभएसम्म सांसद तथा पार्टीको साधारणसभा सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन पनि रास्वपाले दिएको छ ।
आवाज सम्पादन गरियो, भ्वाइस राख्ने मिडियाप्रति कडा कारबाही हुन्छ– ढाका कुमारको सचिवालय
रास्वपाका सांसद श्रेष्ठले आफ्नो र व्यवसायी दुर्गा प्रसाईंबीचको भनिएको संवादमा आवाज सम्पादन गरेको आरोप लगाएका छन् ।
प्रसाईंसँग २ करोड रूपैयाँ मागिएको अडियो श्रेष्ठको नभएको दाबी गर्दै उनको सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा श्रेष्ठको आवाज सम्पादन गरी राजनैतिक भविष्य लक्षित गरी षड्यन्त्र गरिएकोसमेत भनिएको छ ।
व्यापारी दुर्गा प्रसाईंसँगको फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएपछि सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गरी फोन संवादमा बोलको अभिव्यक्तिहरू श्रेष्ठको नभएको दाबी गरेको हो ।
श्रेष्ठको सचिवालयले सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ
“सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढ्ने जानकारी गराउँदै सम्पूर्ण आफन्त, साथीभाइ, शुभचिन्तकहरूमा मा.ढाकाकुमार श्रेष्ठ, निःस्वर्थ इमान्दार कर्मठ, एक व्यक्तित्व रहनुभएकाले यो नियोजित कपोकल्पित भ्रमको पछि नपरिदिनुहुन अनुरोध गर्दछौँ । र शीघ्र सत्य तथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउने छौँ,” विज्ञप्तिमा भनिएको छ ।
७२ घन्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके गढीमाईमा बलि दिनु– सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले २ करोड रूपैयाँ मागेको टेपबारे ७२ घन्टाभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
लामिछानेले आफूले ७२ घन्टाको अल्टिमेटम दिएको बताउँदै सो समयभित्र कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौतीसमेत दिए ।
आइतबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, “आज हाम्रो संघीय सांसदको अडियो टेप सार्वजनिक भएको सामाजिक सञ्जालबाट जानकारी पाएको छु । तपाईंलाई म स्पष्ट पार्न चाहन्छु । त्यो अडियो सार्वजनिक हुनेबित्तिकै मैले पार्टी पंक्तिमा ७२ घन्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनु भनेर अल्टिमेटम दिएको छु ।”
लामिछानेले देशका भ्रष्टचाचारका काण्डहरू ७२ वर्षदेखि अल्झिरहे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको निराकरण हुने जिकिर गरे । उनले आफूले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने पनि जिकिर गरे ।
“पार्टीले आफ्नो तर्फबाट गर्ने छानबिन गरिहाल्छ । उनलाई कानुनी कारबाहीका लागि अनुसन्धानमा लिएर जान प्रहरीको निवेदनमा आफैँ हस्ताक्षर गर्छु र अख्तियारमा आफैँ जान्छु र भन्छु मेरो सांसदले घुसखोरीमा डिल गरेको रहेछ भन्ने सख्त कारबाही गर्नुहोला,” उनको भनाइ छ ।