विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी, ६ जना पक्राउ

47

काठमाडौँ, २४ चैत । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१२ घर भई काठमाडौँको गोंगबु बस्ने राम बहादुर तामाङसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीका अनुसार पक्राउ परेकाहरूमा सर्लाही लालबन्दी–८ का ३४ वर्षीय विनोद कुमार लामा, ४० वर्षीय डिक बहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाश बहादुर गोले र सर्लाही हरिबन नगरपालिका–२ का ३९ वर्षीय रूद्रमान गोले छन् ।

उनीहरूका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरूको नागरिकता, राहदानी, जन्ममिति, विवाह दर्ता र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिसलगायत कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जनाएको छ । पक्राउ परेकाहरूले वैदेशिक रोजगारीमा गइ मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दैगर्दा केही कारणले मृत्यु भएमा तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बिमाबापत पाउने बिमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरूले ठगी गर्ने गरेको र त्यसबापत उनीहरूले प्रतिमृतक सातलाखसम्म ठगी गरेको खुलेको एसएसपी केसीले दाबी गरे । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरूको खोजतलास थालेको थियो ।

वैदेशिक रोजगारीमा गइ कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बिमाबापत क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै, वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख पनि पाउने व्यवस्था छ । उनीहरूले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...