काठमाडौँ, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरूद्ध परेको उजुरीको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाएका छन् ।
चितवन क्षेत्र नम्बर २मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका लामिछानेले आफूविरूद्धको उजुरी सम्बन्धमा ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका हुन् ।
उनीविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा ४ वटा उजुरी परेका थिए । तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानुन व्यवसायी युवराज पौडेल (सफल)ले इमेलमार्फत् दर्ता गराएका थिए । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डबम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका थिए ।
नेपालको नागरिकता लिएको ९० दिन नकाटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता प्ररिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका थिए ।
कानुन व्यवसायी पौडेलको भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेदवारको निर्वाचनको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ ।
निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधबार दिउँसो ३ बजेसम्म छलफल गरी टुंगो लगाइने जानकारी दिए । पौडेलले दिएको उजुरीको विषयमा उम्मेदवारले बुझाएको जबाफ निर्वाचन आयोगमा पठाइएको उनले बताए । थप बुभ्न आयोगमा पठाइएको उनको भनाइ छ ।
उपनिर्वाचनका लागि चितवन–२ मा १२ राजनीतिक दलकासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।