कोशी नाम राख्ने निर्णय तत्काल सच्याउन पर्छ : विप्लव

48

काठमाडौँ, २१ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बू सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको जिकिर थियो । श्रमिक समुदाय मोर्चा नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरूको नाम राख्न उपयुक्त हुने तर्कसमेत गरे ।

उनले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादिरहेको आरोप पनि लगाए । “जातिवाद समाजका लागि घातक कुरा हो । त्यो स्वीकार्य हुँदैन तर पहिचान भनेको छुट्टै कुरा हो । जातिको आफ्नो भाषा, संस्कृति, आफ्नो स्वतन्त्रता चाहिन्छ,” उनले भने, “पूर्वका किरात प्रदेश राखे के फरक पर्छ ? अझ लिम्बूहरूको पनि छ, कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बू, राई सबैको केन्द्रित गरेर त्यहाँका जनताहरूलाई चित्त बुझ्दो साझा नाम राखे के फरक पर्छ ? के कोशी राख्नेबित्तिकै त्यहाँ जातीय पहिचान नहुने अरू राखेपछि मात्रै हुने कुरा हो ?”

महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने पटक–पटक दोहोर्‍याए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराए ।

Share This:
सम्बन्धित खबर
Loading...