स्वर्णिम उम्मेदवार रहेको क्षेत्रमा कांग्रेसले गगन खटाउने, चितवन–२ मा विश्वप्रकाश

96

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनमा आफ्नो उम्मेदवार रहेको क्षेत्रमा दुई महामन्त्रीलाई खटाउने तयारी गरेको छ । कांग्रेसले उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ मा आफ्नो उम्मेदवारद्वय तय गरिसकेको छ ।

तनहुँ–१ मा गोविन्द भट्टराई उम्मेदवार रहेका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराईलाई जिताउन कांग्रेसले गोविन्दराज जोशीको कारबाहीसमेत फुकुवा गरिसकेको छ । उक्त क्षेत्रमा उम्मेदवारी मनोनयन गर्न महामन्त्री गगनकुमार थापा पुग्ने कार्यतालिका रहेको छ ।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले हालै कांग्रेस छाडेका डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । डा.वाग्ले हालै सम्पन्न निर्वाचनमा गगनको पक्षमा खुलेर लागेका नेता हुन् । कांग्रेस सभापति पत्नी आरजु देउवाको हेपाहा प्रवृत्तिका कारण आफू पार्टीमा बस्न नसकेको भन्दै वाग्लेले कांग्रेस छाडेका थिए । यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उपनिर्वाचन हुने भएको हो ।

यता, चितवन–२ मा भने कांग्रेसले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाउने भएको छ । यहाँ कांग्रेसले चितवनका पूर्वजिल्ला सभापतिसमेत रहेको जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएको यस क्षेत्रमा नागरिकता मुद्दाका कारण उनको सांसद पद गएसँगै उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा लामिछाने नै उम्मेदवार बनेका छन् । यसअघि दुई महामन्त्रीले आफूहरूलाई पार्टी सभापतिले कुनै जिम्मेवारी नदिएको गुनासो गर्द आएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...