पञ्जाबको सुखद् सुरूवात, काेलकाता ७ रनले पराजित

72

काठमाडौँ, १८ चैत । १६औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किङ्सले विजयी सुरूवात गरेको छ । शनिबार भएको पहिलो खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराउँदै सुखद् सुरूवात गरेको हो ।

मोहालीस्थित पञ्जाब क्रिकेट एसोसिएसन आइएस बिन्द्रा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

राम्रो सुरूवात गरेको पञ्जाबले २ ओभरमा २३ रन जोड्दा ओपनर प्रभसिमरन सिंह २३ रनमा आउट भए । दोस्रो विकेटका लागि भनुका राजापाक्षसँग ८६ रनको अर्धशतकीय साझेदारी गरेका कप्तान शिखर धवन ४० रनमा आउट भए । आउट हुनअघि धवनले २९ बलमा ६ चौकाको मद्धतमा ४० रन जोडेका थिए ।

राजापाक्षले पञ्जाबका लागि सर्वाधिन रन जोडे । ३२ बलको सामना गरेका राजापाक्षले २ छक्का र ५ चौकाको सहायताले ५० रनको योगदान दिए । यस्तै, साम करनले नटआउट २६, जितेश शर्माले २१, शिकन्दर राजाले १६ तथा साहरूख खानले अविजित ११ रनको पारी खेले ।

कोलकाताका टिम साउथीले २ तथा उमेश यादव, बरूण चक्रवर्ती र सुनिल नारायनले एक–एक विकेट लिए ।

१९२ रनको लक्ष्य पछ्याएको कोलकाताले १७औँ ओभरमा ७ विकेटको क्षतिमा १४६ रन जोड्दा वर्षाले अवरूद्ध भएपछि खेलको नतिजा डकवर्थ लेविसको माध्यमबाट लिइएको थियो । जहाँ कोलकाता पञ्जाबभन्दा ७ रनले पछि परे ।

कोलकाताका आन्द्र रसेलले १९ बलमा ३५ रनको तुफानी पारी खेले पनि टोलीलाई हारबाट बचाउन सकेनन् । यसैगरी, भेंकटेस आयरले ३४, नितिश रानाले २४, राहमानुल्लाह गुर्बाजले २२ रन जोडे ।

कोलकातालाई कम स्कोरमा रोक्ने क्रममा अर्शदीप सिंहले ३, राहुल चाहर, शिकन्दर राजा, नाथान एलिस र साम करनले एक–एक विकेट लिए ।

जितसँगै पञ्जाबले महत्वपूर्ण २ अंक बटुलेको छ । समान एकबाट २ अंक जोडेको गुजरात टाइटन्स रनरेटको आधारमा शीर्ष स्थानमा छ भने पञ्जाब दोस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...