काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूले मन्त्री नबन्ने घोषणा गरेको तर उपप्रधानमन्त्री बन्दिनँ भनेर नभनेको बताएका छन् ।
शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेर उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका खड्काले आफू मन्त्री मात्रै नबन्ने स्पष्टीकरण दिए ।
“अहिले सामाजिक सञ्जालमा मन्त्री खान्न भन्नुभयो तर मन्त्री बन्नुभयो भनेर आइरहेको छ,” खड्काले भने, “मैले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भनेको हो । यदि उपप्रधानमन्त्री बिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ ।”
अहिले आफू मुलुकको उपप्रधानमन्त्री छु भन्ने कुरा शुभचिन्तक र टिप्पणीकर्तालाई स्पष्ट पार्न चाहेको उनले उल्लेख गरे । आफू बचनबाट दायाँबायाँ नभएको पनि उनले जिकिर गरे ।
आफू धेरै पटक मन्त्री बनिसकेको भन्दै अहिले मन्त्री नबन्ने घोषणा गरेको खड्काले स्मरण गरे ।
“२०५५ सालदेखि म उद्योग वाणिज्य तथा आपुर्ति, युवा तथा खेलकुद, जनसंख्या, वाणिज्य, सञ्चार दुई–दुई पटक गृहमन्त्री भइसकेको भएर फेरि मन्त्री बन्ने लालसा बन्द भयो,” उनले भने, “त्यही भएर मन्त्री बन्ने भन्दा पनि मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेको हो ।”