सरकारले मिटरब्याज पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर

73

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याज पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

स्कुल अफ डेमोक्रेसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाडौँमा आई न्यायका लागि छटपटाउनु सुखद नभएको बताए ।

“अहिले मधेस प्रदेशका मिटरब्याज पीडितको पीडामात्रै देखिएको छ। तर, भित्रभित्रै देशभर नै मिटरब्याजीहरू सक्रिय छन् । सोझासाझा आर्थिक अवस्था कमजोर भएका जनतालाई खाली पानामा औठाछाप गर्न लगाइ मन लाग्दी रकम राख्ने र ब्याज लगाउने टाठाबाठाहरू सक्रिय छन् । त्यसैले सरकारले भविश्यमा जनता नठगिने गरि मिटरब्याजविरुद्ध आवश्यक कडा कानुन ल्याउनु पर्छ,” महरले भने ।

सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको भए पनि यसको प्रभावकारी कार्यान्वयन जरुरी छ ।

मिटरब्याज पीडितहरूले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको र ती माग जायज रहेको महरको भनाइ छ ।

पीडितहरूले पनि यस्ता लेनदेनका कामगर्दा कानुनसम्मत तरिकाले सरकारको उपस्थितिमा गर्नुपर्ने महरको धारणा छ ।

Share This:
सम्बन्धित खबर
Loading...