काठमाडौँ, १६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
काठमाडौँमा बिहीबार आयोजित साक्षात्कार कार्याक्रममा उनले मिटरब्याजीहरूलाई सरकारले कारबाही गर्नुपर्ने बताएका हुन् । “हामीले मिटरब्याज पीडितहरूको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । सरकारले ध्यान दिएर मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ,” उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको बताए । पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने उनको भनाइ छ । उनले आम नागरिकहरू बेलेमै सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताए ।
“अप्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ, थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न भएन । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ,” उनले भने, “यो गलत कुरा हो, कानुनविपरीत छ भन्नेकुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ ।”