बालेनलाई प्रधानमन्त्रीको जबाफ– ढुक्क हुनुस्, सकार पाँच वर्ष टिक्छ

36

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि यहाँ सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साह (बालेन)ले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनपछि लगातार आफ्नै नेतृत्वमा सरकार अगाडि बढिरहेको भन्दै उनले पाँच वर्षसम्म सरकार अस्थिर नहुने प्रष्ट पारे ।

उनले भने, “कामपा प्रमुख बालेन्द्र साहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईं ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।”

प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी पनि स्थानीय तहको हो भन्दै संविधानको मर्म र भावनअनुरुप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहने बताए ।

नागरिकको मनमा सरकार भन्ने वित्तिकै स्थानीय जनप्रतिनीधि र कर्मचारी अग्रपंक्तिमा आउने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकलाई अपनत्व बोध गराउनेगरी स्थानीय तह र जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिए । साथै प्रधानमन्त्री दाहालले संविधान र कानुनको व्यवस्था बमोजिम काम गर्न सबै स्थानीय तहलाई जनताका काम गर्न आग्रह गरे ।

न्यायिक समितिमार्फत हुने न्याय निरुपणले सेवाग्राही आर्थिक भारबाट मुक्त हुने, सामाजिक एकता कायम हुने, झनझटमुक्त न्याय प्राप्त हुने हुँदा यसको थप व्यवस्थापको लागि केन्द्र सरकारले विशेष ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

न्याय सम्पादनमा स्थानीय तहको एकरुपता कायम गर्न, अनुभवको आदानप्रदान गर्न, केन्द्र सरकासँग समन्वय गर्न र समस्याको केन्द्रीकरण र समाधानको साझा प्रयासका लागि यस्ता सम्मेलन थप प्रभावकारी हुने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

Share This:
सम्बन्धित खबर
Loading...