मिटरब्याज पीडितहरूलाई महानगर प्रमुख बालेनको साथ

46

काठमाडौँ, १३ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मिटरब्याजी पीडितको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारसमक्ष समस्या समाधानको माग गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले मिटरब्याजी पीडितहरू सधैँ काठमाडौँ आएर आन्दोलन गर्नु पर्ने स्थिति भएता पनि सरकार यस विषयमा मौन रहेको टिप्पणी गरे । विगत केही वर्षदेखि सरकारले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने भनेता पनि सरकारको भनाइ आश्वासनमा सीमित रहेको उनको धारणा छ ।

उनले लेखेका छन्, “मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौँ तर उहाँहरु खुलामन्च मै बस्न खोज्नुभयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौँ र उहाँहरुको मागप्रति एक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरुको समस्या समाधानका लागि जोडदार माग राख्दछौँ ।”

केही समय पहिला काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो । सरकारसँग न्यायको माग गर्दैकाठमाडौँ आइपुगेका ८ जिल्लाका मिटरब्याज पीडितहरू खुलामञ्च प्रवेश गर्न खोजेका थिए ।

तर, नगर प्रहरीले उनीहरूलाई गेटमा रोकेको थियो । आफ्नो माग पूरा नभएसम्म नफर्किने उनीहरूको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...