तम्घास, १३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा लागेको खिया मेटाउनुपर्ने बताएका छन् । गुल्मीको तम्घासमा आयोजित मिसन ग्रासरूट कार्यक्रमअन्तर्गत बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो उल्लेख गरेका हुन् ।
खिया लागेर भुत्ते भएका फलामलाई धारिलो बनाए मात्र प्रयोगमा आउने ओलीले बताए । “निरन्तर प्रयोग नगरेमा खुकुरीमा खिया लग्छ, भुत्ते हुन्छ काट्दैन,” उनले भने, “एमालेमा लागेको खिया मेटाउनुपर्छ, धार लगाएर जनतामाझ जानुपर्छ ।” पूर्वप्रधानमन्त्री ओलीले कार्यकर्ता हुँदै जनतामाझ जानका लागि एमालेले मिसन ग्रासरूट अभियान सञ्चालन गरेको उल्लेख गरे ।
एमालेले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ देशभर पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत तम्घासमा सोमकार बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको एमाले गुल्मीका अध्यक्ष गणेश श्रीपालीले जानकारी दिए ।
अध्यक्ष ओलीले गैरएमाले प्रवृत्ति परास्त गर्ने अभियानको मुख्य ध्येय रहेको समेत स्पष्ट पारेका थिए । एमालेका सदस्यको व्यवहार र आचारण देख्दै एमालेजस्तो हुनुपर्ने उनको भनाइ छ ।
पञ्चायतकालमा तत्कालीन लुम्बिनी अञ्चलका ५ जिल्लामा आफू कमाण्डर रहेर मोर्चा सम्हालेको स्मरण गर्दै हाल लुम्बिनी प्रदेशका यी जिल्लामा आवासीय भ्रमण गरेको ओलीले बताए । उनले एमाले एक्लै ५१ प्रतिशत मत ल्याउनका लागि मेहनत गरिरहेको बताए ।
“देश बचाउन र बनाउन एमालेको एक्लै बहुमत चाहिन्छ,” ओलीले भने, “जतिसुकै गठबन्धन भए पनि एमाले बाघको डमरू हो, सिनो खाने स्यालको बच्चा एमाले होइन ।” आधुनिक नेपाल निर्माणका लागि एमाले मात्र सशक्त रहेको उनले कार्यकर्तामाझ सुनाए ।
उनले एमाले अब माथिल्लो कमिटीले क्रमशः तल्लो कमिटीलाई निगरानी गरेर जनतामाझ परिचालित हुन आवश्यक रहेको उल्लेख गरे । टोलटोलमा संगठन र घरघरमा सदस्य एमालेको अभियान भएको उनले बताए ।