काठमाडौँ, ९ चैत्र । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटनाहरु तेब्बरले वृद्धि भएको जानकारी दिएका छन् ।
बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले यस वर्ष हिउँदे वर्षा असाध्यै न्यून भएकाले आगलागी तथा वन डढेलाका घटनाहरुको जोखिम पनि अधिक हुनसक्नेतर्फ प्राधिकरणले विशेष ध्यान दिएको पनि पोखरेलले जानकारी दिए ।
आगलागीबाट २०७० वैशाख १ गतेदेखि २०७९ चैत्र ७ गतेसम्म भएका १८ हजार ७९१ घटनामा ७६९ को ज्यान गएको छ भने २ हजार ५६८ घाइते भएका छन् । आर्थिक क्षति २२ अर्ब २३ करोड भन्दा बढी छ । डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठुलो पर्यावरणीय क्षति हुने गरेको छ । यसै अवधिमा चट्याङका २ हजार २८० घटनाहरु हुँदा ९०१ को मृत्यु भएको छ भने २ हजार ५४५ जना घाइते भएका छन् । यस अवधिमा २ हजार ८०३ चौपायाको पनि क्षति भएको छ ।
आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरिएको छ ।
आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि-नियन्त्रण दस्ताहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामग्रीहरुको विकास गरी ईलर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको प्राधिकरणका सहसचिव अनिता निरौलाले बताए ।
सहसचिव निरौलाले प्राधिकरणको स्थापनापश्चात विगत ३ वर्षमा प्राधिकरणबाट भएका नीतिगत पहलहरुका बारेमा पनि जानकारी गराए ।
प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटनाहरु झन् विकराल हुनसक्ने भएकाले यसतर्फ राज्यका निकायहरु अलवा उपभोक्ताहरु पनि सचेत हुनुपर्ने बताए ।
प्राधिकरणले आगलागी तथा वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिद गरी विभिन्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरुलाई वितरण गरेको छ । हालसम्म २१ वटा जिल्ला प्रशासन कार्यलहरुलाई आगलागी नियन्त्रणका लागि बोकेर लैजान मिल्ने पम्प (Portable Fire Fighting Pump) सहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ नै वितरण गरिएको छ ।
उपकरण वितरण गरिएका जिल्ला प्रशासन कार्यालयहरुमा इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेल्धुरा र कञ्चनपुर छन् । वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर र्याक, फायर एक्स हो, प्राथमिक उपचारका सामानहरु, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चा लगायत छन् ।
त्यसैगरी, तनहुँका आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, खोटाङको वराहपोखरी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका र चितवनको रत्ननगर नगरपालिकालाई पनि पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवा र सिन्धुपाल्चोक एवं सप्तरीको तिरहुत गाउँपालिका र ताप्लेजुङका फुङलिङ नगरपालिका एवं मिरङदेन गाउँपालिकालाई भने बोकेर लैजान मिल्ने पम्प (Portable Fire Fighting Pump) हस्तान्तरण गरिएको छ ।
आगलागी तथा वन डढेलोसहित सबै खालका विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रुपमै स्वयंसेवक परिचालन गर्नका लागि प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ । २०७८ माघ १४ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२औँ बैठकले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि– २०७८’ पारित गरेलगत्तै यस सम्बन्धमा काम सुरु भएको थियो । त्यसका लागि तयार वेव प्लेटफर्म vms.ndrrma.gov.np मा हालसम्म १ लाख ४११ जना स्यवंसेवक सूचिकृत भइसक्नुभएको छ ।
मनसुनजन्य तथा आगलागीजन्य विपद्बाट प्रभावितहरुको निजी आवास पुनर्निर्माण तथा पुनःस्थापनाका लागि अनुदान वितरण कार्यविधिहरु क्रियाशील छन् । ती विपद्बाट आवास गुमाएका विपद् प्रभावितहरुले आवास गुमाएमा तराईका जिल्लाहरुमा ३ लाख, पहाडका जिल्लाहमा ४ लाख र हिमालका जिल्लाहरुमा ५ लाख प्राप्त गर्छन् । २०७९ फागुन ३ गतेसम्म निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि संघबाट १ अर्ब १३ करोड ९५ लाख ६६ हजार २५० रुपैयाँ निकासा भइसकेको छ ।