काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनता नतर्साउन आग्रह गरेका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।
थापाले प्रधानमन्त्री एक्दै बस्दा डराउनुपर्ने बेला आएको उल्लेख गर्दै यसबारे सोच्नुपर्नेसमेत बताए । “म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक–पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला आएको छ,” उनले भने, “एक्लै बिहान बेलुका बस्दै गर्दा दिनमा कम्तिमा आधा घन्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एक–एक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् ।”
प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरमुक्त हुने अवस्था बन्ने उनको भनाइ थियो ।
“प्रधानमन्त्रीले मसँग १७२, १७३ भोट छ । ढुक्क छ भन्दै गयो भने हामीलाई सुन्ने मानिस बाँकी नरहन सक्छ । मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै देखेको थिइनँ । मानिस निराश भएका छन्,” उनले भने ।
उनले संरकारले हिजोभन्दा आज राम्रो हुँदै छ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने बताए । “वास्तवमा अहिले तन्नेरीहरू आत्तिनुपर्ने बेला होइन, डराउनुपर्ने, आत्तिनुपर्ने प्रधानमन्त्री हो, सरकारले हो,” उनले भने, “वास्तवमा यो प्रधानमन्त्री डराउने बेला हो । मैले त प्रधानमन्त्रीजीलाई भनेको पनि छु कि तपाईंहरू केही समय लिएर सोच्नुहोस्, वरिपरिको गणित मात्रै हेर्नुभयो भने सिंगै देश डराउनुपर्ने स्थिति हुन्छ । तर, बेलैमा डराइदिनुभयो भने नागरिकको डर भाग्छ ।”
महामन्त्री थापाले समुदायलाई सही सूचना दिने काम सामुदायिक रेडियोको काँधमा आएको धारणा राखे ।