काठमाडौँ, २९ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)माथि ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । लिग–२ को अन्तिम खेलमा नेपालले बिहीबार युएईलाई पराजित गरे सोझै विश्वकप छनोट खेल्ने छ ।
जितका लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले २१ बलमा ३ छक्का र ८ चौकासहित ५३ रनको अविजित पारी खेले । आसिफको यो करियरको ८औँ अर्धशतक हो । यस्तै, कुशल मल्ल १३ बलमा १ छक्का र १ चौकासहित १२ रनमा नटआउट रहे ।
आक्रमक सुरूवात गरेको नेपालका एकमा विकेट झर्यो । ओपनर कुशल भुर्तेल ३३ रन बनाउँदा एलबिडब्लु धरापमा परे । भुर्तेलले १४ बलमा २ छक्का र ४ चौका प्रहार गरे ।

विकेटको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठुलो जित हो । यसअघि २०२० मा अमेरिकाविरूद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजीले ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको थियो ।
पिएनजीका ब्याटर नेपाली बलरसामु निरीह भए । पिएनजीले सुरूवातमै महत्वपूर्ण २ विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चार्ल्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर, नेपाली बलरले उनीहरूलाई खुलेर खेल्ने दिएनन् । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका लामिछानेले १ मेडनसहित २५ रन खर्चिए । लामिछानेको यो एकदिवसीय क्रिकेटमा तेस्रो पाँचौँ विकेट हो । सन्दीपले यसअघि सन् २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरूद्ध ६–६ विकेट लिएका थिए । लामिछाने करण केसस्पछि तीन पटक पाँच विकेट लिने दोस्रो नेपाली बलर हुन् ।

यस्तै, ललित राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले एक विकेट लिए ।
नेपालले अब बिहीबार युएईसँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा नेपालले आगामी जुन जुलाईमा जिम्बाब्वेमा एकदिवसीय छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा नेपालले यसै महिनाको अन्तिममा नामाबियामा हुने क्वालिफायर प्लेअफ खेल्ने छ । शीर्ष दुईमा रहने २ टोलीले पुनः विश्वकप छनोट लेख्न पाउनेछन् ।
जितसँगै नेपालको ३५ खेलबाट १८ मा जित र १५ मा हारसहित ३८ अंक भएको छ । नेपाल तालिकाको चौथो स्थानमा छ ।
लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ ।
एकदिवसीय मान्यता सुरक्षित गरिसकेको अमेरिकाका ३६ खेलबाट १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौँ स्थानमा छ । युएई ३४ खेलबाट १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ३५ खेलबाट ५ मा जित र २९ हारसहित ११ अंक जोड्दै पुछारमा छ ।