ललितपुर, २८ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामति सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामति सरह सुविधा दिने तयारी भइरहेको बताएका छन् ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले राष्ट्रिय व्यक्तिहरुको सम्मानका लागि उपचारमा निजामति सरह सुविधा उपब्ध गराउने तयारी भइरहेको बताएका हुन् ।
“तपाईंहरुका लागि सरकारको तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु,” मन्त्री मोदीले भने, “हाम्रो मन्त्रालय अन्तर्गतको निजामति सेवा अस्पतालमा अहिले निजामति सेवाकाले मात्रै सुविधा पाउँछ । अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामति सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ ।”
राष्ट्रिय व्यक्तित्वहरुको सम्मानका लागि आफूहरुले यो काम गर्न लागेको मन्त्री मोदीको भनाइ थियो ।
आर्थिक समस्याका कारण कलाकारहरुले जीवनको उतरार्द्धमा उपचार समेत गर्न नसक्ने अवस्था सिजर्ना भएको भन्दै मन्त्री मोदीले भने, “आर्थिक अभावले तपाईंहरुलाई निराश लान सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्यांकन भएन की भन्ने पनि तपाईंहरुलाई लाग्छ । तपाईंहरुसहित राष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा निजामति अस्पतालमा निजामति सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईंहरुको कलाको राज्यले उचित सम्मान गर्छ ।”
मन्त्री मोदीले समाजमा कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने समेत बताए । उनले भने, “जनताको सेवा दिने सवालमा कर्मचारीले आलटाल गर्ने जुन प्रवृत्ति छ, त्यसलाई अन्त्य गरेर भ्रष्टचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने दिशामा यो सरकार अग्रसर छ ।”