आसिफको शतकमा नेपालले पिएनजीलाई दियो २९८ रनको लक्ष्य

79

काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल बाँकी रहँदा २९७ रनमा अलआउट भएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरूद्ध २८७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले शतक प्रहार गरे । अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पहिलो शतक प्रहार गर्ने क्रममा उनले ११० बल खेल्दै २ छक्का र १२ चौकाको मद्धतमा ११० रन बनाए । आसिफ नेपालबाट एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने । यसअघि, पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

खेलमा नेपालले उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्‍यो । नेपालले ओपनर कुशल भुर्तेललाई १८.४ ओभरमा गुमायो । ५६ बल खेलेका भुर्तेल ४५ रनमा आउट भए ।

यस्तै, भीम सार्कीले ४४ रन जोड्दा कप्तान रोहित पौडेल ३० रनमा आउट भए । आरिफ शेखले १५, ज्ञानेन्द्र मल्लले ११, करण केसीले ८ तथा सन्दीप लामिछाने ७ रन बनाए ।

बलिङतर्फ पिएनजीका सेमो कामियाले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३८ रन खर्चिए । यस्तै, राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेको छ ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ ।

३२ खेलबाट ३२ अंक जोडेर नेपाल पाँचौँ स्थानमा छ भने युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौँ स्थानमा छ । पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ ।

Share This:
सम्बन्धित खबर
Loading...