युएईमाथि सानदार जित निकाल्दै नेपाल पाँचौँ स्थानमा उक्लियो
काठमाडौँ, २२ फागुन । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको छ ।
यो जितसँगै नेपालले युएईलाई पछि पार्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता प्राप्त गर्न अब ४ खेलमध्ये २ खेलमा जित निकाले पर्याप्त हुने छ ।
जितका लागि २३० रनको विजयी लक्ष्य पछ्याएको युएई ४६ ओभरमा १८७ रनमा समेटियो । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए । ८ ओभर बलिङ गरेका ऐरीले १८ रन खर्चदै ३ विकेट लिए भने कामीले ७ ओभरमा २६ रन दिएका थिए ।
यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।
युएईका ओपनर आसिफ खानले सर्वाधिक ८२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । नेपालले लिग–२ मा पहिलो पटक युएईलाई हराएको हो ।
त्यसअद्धि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेके नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । नेपालका भीम सार्कीले ७० रनको योगदान दिए ।
यस्तै, आरिफ शेख ४३ रनमा नटआउट रहे । कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७ तथा ज्ञानेन्द्र मल्ल र प्रतिस जिसीले समान ११ रन जोडे ।
जितसँगै नेपालले ३२ खेलमा १५ जित र १५ हारसहित ३२ अंक जाेडेर पाँचाैँ स्थानमा उक्लिएकाे छ । समान खेल खेलेकाे युएई १४ मा जित र १५ हारसहित ३१ अंकका साथ छैटाैँ स्थानमा झरेकाे छ ।