काठमाडौँ, १९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी रहँदा ७ विकेटको क्षतिमा पूरा गर्यो । योजितसँगै नेपालको सोझै एकदिवसीय मान्यता प्राप्त गर्ने सम्भावना बढेको छ ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ८६ रन बनाए । त्यस्तै, सन्दीप लामिछानेले ३५ रनको अविजित पारी खेले । नेपाललाई १०५/७ को अवस्थाबाट जिततर्फ अग्रसर बनाउन शेख र लामिछानेको साझेदारी महत्वपूर्ण रह्यो ।
आसिफ र सन्दीपले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा यो नेपालबाट आठौँ विकेटका लागि बनेको उच्च साझेदारी हो । यसअघि आठौँ विकेटका लागि उच्च साझेदारी अघिल्लो साता सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरूद्ध ५५ रनको साझेदारी गरेका थिए ।
नेपाले सुरूमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल इनिङ्सको पहिलो बलमै शून्य रनमा आउट भएका थिए । यस्तै, कुशल मल्लले २३ रनको योगदान दिँदा नेपालका अन्या ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ज्ञानेन्द्र मल्ल ६, भीम सार्की र दीपेन्द्रसिंह ऐरीले ८–८ रन जोडे ।
पपुवा न्युगिनीका कप्तान असाद भाला, सेमो कमिया र सेसे बाउले समान दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी ४९.२ ओभरमा १७९ रनमा समेटिएको थियो । ओपनर टोनी उराले पपुवा न्युगिनीका लागि सर्वाधिक ३९ रन बनाए । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए भने सेसे बाउ र कप्तान असाद भालाले समान ११ रन जोडे ।
नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कार्मीले समान २–२ विकेट लिए । यस्तै, करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।
लिग–२ मा नेपालले पपुवा न्युगिनीविरूद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले आफ्नो बाँकी ५ मध्ये ३ खेल जित्नुपर्ने छ ।
नेपाल ३१ खेलबाट १४ खेलमा जित र १५ मा हारसहित ३० अंकसाथ छैटौँ स्थानमा छ । पपुवा न्युगिानी ३१ खेलबाट ३ खेलमा जित र २७ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ ।