पशुपतिमा अतिक्रमित संरचना २४ घन्टाभित्र हटाउन महानगरको अल्टिमेटम

27

काठमाडौँ, १९ फागुन । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घन्टाको अल्टिमेटम दिएको छ ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए ।

उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घन्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रमा २० वटाभन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ ।

बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...