काठमाडौँ, १८ फागुन । आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ । नेपालले युएईलाई सात रनले पराजित गरेको हो ।
सन् २०१६ यता नेपालले पहिलोपटक उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८औँ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । नेपालको जितमा ४८औँ ओभरको अन्तिम तीन बलमा विकेट लिँदै दिपेश कँडेलले ह्याट्रिक गरे ।
यसअघि युएईको अजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको थियो ।
नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय इनिङ खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
त्यस्तै, विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए ।
बलिङतर्फ युएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए ।
श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताबाट एक टिम पुग्ने प्रावधानअनुसार नेपालले अन्तिम खेलमा युएईलाई हराउँदै च्याम्पियन बनेको हो ।
अन्तिम खेलअघि नेपाल र युएईले लगातार ४ खेलमा जित निकालेर ८–८ अंक जोडेका थिए । जसका कारण जित हात पार्ने टोली विश्वकपमा पुग्ने पक्का थियो । यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए ।
नेपालले सन् २०१६ देखि यू–१९ विश्वकपमा स्थान बनाउन सकेको थिएन । सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू–१९ विश्वकप गुमाइसकेको थियो । सन् २००० मा पहिलो पटक यू–१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो ।