झापा, १६ फागुन । झापाको भद्रपुरस्थित मेची रंगशालामा भएको प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको समयमा पनि दुवै टोलीका तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोकेका थिए भने आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार मछिन्द्रका विशाल श्रेष्ठले बचाए । टाइब्रेकरमा आमीका दीपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे भने मछिन्द्रका लागि दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए ।
जितसँगै आर्मीले १३ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता मछिन्द्रले ७ लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उदियमान खेलाडी मछिन्द्रका सौरव राई र उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरूले जनही २५ हजार पुरस्कार पाए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले एक लाख पुरस्कार प्राप्त गरे ।