काठमाडौँ, १२ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारले ठुलो भूमिका थियो । अब देशको सुशसान र संघीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”
उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए । “आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो । तपाईंहरूको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ,” उनले भने । उनले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने आश्वासनसमेत दिए ।
फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नभएर समुदायको हकहितका लागि लेख्नै सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए ।