मैले कति योगदान गर्न सके थाहा छैन, तर मेरो देशले क्रिकेट जितेको छ : सन्दीप लामिछाने

56

काठमाडौँ, १० फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले देशले क्रिकेट जितेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले कति योगदान गरेको थाहा नभए पनि देशले क्रिकेट जितेको उल्लेख गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ४ वटै खेल जितेको थियो ।

नेपालले नामिबिया तथा स्कटल्यान्डलाई दुई–दुई पटक पराजित गर्दै लिग–२ अन्तर्गतको सिरिजमा पहिलोपटक ४ वटै खेल जितेको थियो ।  नेपालले स्कटल्याण्डलाई पहिलाे खेलमा तीन विकेट तथा दाेस्राे खेलमा २ विकेटले हराएको थियो । त्यस्तै, नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो ।

नेपालले ४ वटै खेल जित्दा लामिछानेले एक्लैले १३ विकेट लिए । उनले नामाबियाविरूद्धको दुवै खेलमा ३–३ विकेट तथा स्कटल्यान्डविरूद्धको पहिलो खेलमा ३ र दोस्रो खेलमा ४ विकेट हात पारेका थिए ।

उक्त सिरिज जितेपछि लामिछानेले समाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् । “मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,” उनले लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...