रोहित र करणको साझेदारीमा नेपालको रोमाञ्चक जित

128

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्यान्डले पहिला ब्याटिङको निम्तो पाएको थियो । स्कटल्यान्डले निर्धारित ५० ओभरको खेलमा ४६.१ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १२ रनको योगफल बनायो । दुई सय १३ रनको विजय लक्ष्य नेपालले ३५ बल बाँकी छँदै आठ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले ६१ रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । एक सय ३८ रन बनाउँदा आठ विकेट गुमाएको अवस्थामा नेपाली पारीलाई कप्तान रोहितकुमार पौडेल र अलराउण्डर करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि सिरिजको उपाधि सुरक्षित सम्भव भएको हो । दुवैबीच ७५ रनको साझेदारी भएको हो । कप्तान पौडलेले अविजित ९५ तथा केसीले ३१ रनको योगदान दिए । यस्तै, ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिफ शेखले १२ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले तीन र क्रिस ग्रेभ्ब्सले दुई विकेट लिए ।

यसअघि दुई सय १२ रन बनाउने क्रममा स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्धतमा ६० रन बनाए । यस्तै म्याथ्यु क्रसले ४२, ब्रेन्डन म्याकुलमले ३१ तथा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२–२२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । यस्तै, करण केसीले तीन, ललितनारायण राजवंशी र कुशल मल्लले समान एक–एक विकेट लिए । यसअघिको खेलमा पनि नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । यस्तै, नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो । लिग–२ मा नेपाल २६ अंकका साथ छैटौँ स्थानमा छ ।

नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्यान्डले ३६ खेलमा ५० अंक जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुंग्याएको छ । स्कटल्यान्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । यस्तै, जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अंक जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...