राससले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

67

काठमाडौँ, ७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति (रासस)ले खोजमूलक आलेख र समाचार संकलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन् ।

राससको ६२औँ वार्षिकोत्सव समारोहलाई केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्दै उनले सूचना प्रविधि र पाठकको रूचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक सामग्री उत्पादनमा जोड दिएकी हुन् । स्थानीय समाचारदातालाई अझ बढी व्यवस्थित रूपमा परिचालन गरिनुपर्ने मन्त्री शर्माले बताइन् ।

सेवाग्राहीको संख्या वृद्धि, संस्थामा उपलब्ध स्रोत, साधनको अधिकतम् सदुपयोग, आर्थिक रूपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण एवम् सवर्द्धनलाई प्राथमिकता दिन पनि मन्त्री शर्माले आग्रह गरिन् ।

“आगामी दिनमा रासस थप सबल बन्दै सामाजिक उत्तरदायित्वका सेवामा समेत सहभागी हुन आफ्नै कोषको स्थापना गर्ने योजना ल्याउनुपर्छ, राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिइ आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था गर्नुपर्छ, आवश्यक स्रोतसाधन र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु,” उनले भनिन् ।

सरकारले सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकार भएकासँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवम् नयाँ कानुन बनाइ समसामयिक सुधार गर्न लागिएको सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले बताइन् ।

नेपाली सञ्चारमाध्यममा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिकद्वेष फैल्याउने काममा नियन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि उनले आह्वान गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...