काठमाडौँ, ६ फागुन । आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ । कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७ रनको लक्ष्य नेपालले १५ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय योगदान दिए । आइसिसी विश्वकप लिग–२ मा नेपालले पहिलो पटक एकै सिरिजमा तीन खेल जितेको हो ।
ओपनर आसिफ शेखले ९८ बलमा २ छक्का र ८ चौकासहित सर्वाधिक ८१ रनको योगदान दिए । आसिफको यो एकदिवसीय करियरको छैटौँ अर्धशतक हो । यस्तै, ज्ञानेन्द्र मल ७४ बलमा ३ छक्का र ५ चौकासहित ६५ रन जोड्दै आउट भए ।
कुशल मल्ल ४९ बलमा ४ छक्का र ६ चौकासहित ६२ रनमा आउट भए । कुशलको यो करियरको तेस्रो र लगातार दोस्रो अर्धशतक हो । यस्तै, कप्तान रोहित पौडेलले ४३ बलमा ५ चौकासहित ३९ रनको योगदान दिए ।
नामिबियाका रूबेन ट्रम्पलम्यानले ३ तथा बेनार्ड स्कोट्जले २ विकेट लिए ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्ताे पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै, करण केसीले एक विकेट लिए ।
आसिफ र ज्ञानेन्द्रको कीर्तिमान
नेपालका ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामाबियाविरूद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् ।
आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि कीर्तिमानी १३९ रनको साझेदारी गरेका हुन् । एकदिवसीय क्रिकेटमा नेपालको यो सर्वाधिक साझेदारी हो । यो जोडीले यही लिग–२ को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेका १३३ रनको साझेदारी तोडेका हुन् ।
२७औँ ओभरमा ज्ञानेन्द्र आउट भएपछि साझेदारी तोडिएको थियो । मल्लले ७४ बल खेल्दै ३ छक्का र ५ चौकाको मद्धतमा ६५ रन जोडे । आसिफले ९८ बल खेल्दै २ छक्का र ८ चौकासहित ८१ रन बनाए । आसिफ ३२औँ ओभरमा आउट भएका थिए ।
सन्दीपको लिग–२ मा ५० विकेट पूरा
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ एकदिवसीयमा ५० विकेट पूरा गरेका छन् । सन्दीपले नामिबियाविरूद्ध सुरूवाती २ विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् ।
सन्दीप २३ खेलमा लिग–२ मा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी बनेका हुन् । सर्वाधिक विकेट ओमानका तीव्र गतिका बलर बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका छन् । अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवालकरले ३५ खेलमा ५८ विकेट लिएका छन् । सन्दीप लिग–२ मा ५० विकेट पूरा गर्ने पहिलो स्पिनरसमेत बनेका हुन् ।
सन्दीपले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिएका छन् ।