धनगढी, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
नयाँ सरकार बनेसँगै सानो आकारको मन्त्रिपरिषद् पनि बनेको छ । त्यसमा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार र नेकपा (एकीकृत समाजवादी)का नरेश शाहीले आर्थिक मामिला मन्त्रीको शपथ लिएका छन् ।
बिहीबार नेकपा (एमाले)का मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पदमुक्त भएपछि ठुलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनले अबको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११ (सभामुखसहित), एमालेका १० (उपसभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद् छन् । विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।