उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

66

काठमाडौँ, २७ माघ । सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । यसअघि बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको थियो ।

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिएका थिए ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।

फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ । प्रधानमन्त्री प्रचण्ड र उनी अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन् ।

तर, सत्ता साझेदार दल नेकपा (एमाले)ले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन् । तर, पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । यो परिस्थितिसँगै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क माओवादीले गर्दै आएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता गठबन्धनका सात दलका शीर्ष नेता छन् ।

Share This:
सम्बन्धित खबर
Loading...