गैरआवासीय नेपाली संघले बुझायो पेरिसस्थित दूतावासमा ज्ञापन पत्र

164

काठमाडौँ, २२ माघ । गैरआवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलमा नेपालीहरूले भोगिरहेका समस्यहरुको उचित समाधान गर्न फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएका छन् ।

विशेष गरी पोर्चुगल नेपाली राजदूतावासविहीन भएका कारणले त्यहाँका नेपालीहरुले भोगिराखेका राहदानीसम्बन्धी जटिल समस्याहरुको समाधानका लागि शुक्रबार एनआरएनए पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा नेतृत्वमा गएको टोलीले राजदूत दीपक अधिकारीलाई ज्ञापन पत्र बुझएका हुन् ।

“नेपाली राजदूतावास फ्रान्सको कार्यक्षेत्रभित्र पर्ने पोर्चुगलमा ई–पासपोर्ट लागु भएको सूचना प्रकाशित गरेको झन्डै ९ महिना हुन लाग्दासमेत एक पटक पनि राजदूतावासको टोली निरीक्षण वा अनुगमन गर्न समेत नआएकोप्रति हामी अत्यन्तै दुःखित भएका छौँ” संघका अध्यक्ष सोमफुरी शेर्पा र सचिव मिलन रेग्मीद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति भनिएको छ ।

“भिसा सकिएका वा रेसिडेन्स कार्ड नबनेका नेपालीहरु गैरकानुनी रुपमा फ्रान्स आउन दुई देशको सिमाना पार गरेर आउन अत्यन्तै जोखिमपूर्ण रहेको छ । रेसिडेन्स कार्ड हुनेहरुको हकमा पोर्चुगलजस्तो कम आम्दानी भएको देशमा नेपालीहरुलाई एउटा पासपोर्ट बनाउन समय र धेरै पैसा खर्च गरेर आउनुपर्ने बाध्यता रहेको” उक्त विज्ञप्तिमार्फत् राजदूत अधिकारीलाई जानकारी गराएका छन् ।

गत २३ जनवरी २०२३ मा गैरआवासीय नेपाली संघ पोर्चुगलले त्यहाँका नेपालीहरुको समस्याबारे गुनासाहरु राख्न र समाधानका उपायहरुको सुझाव संकलन गर्न लिस्बनमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा आएका गुनासाहरु र सुझावहरुलाई नै लिएर टोली पेरिसको नेपाली राजदूताबासमा पुगेको अध्यक्ष शेर्पाले बताए ।

ज्ञापन पत्र बुझ्दै राजदूत दीपक अधिकारीले पोर्चुगलमा नेपालीहरुले भोग्नुपरेका समस्य आफैँमा गम्भीर प्रकृतिको भएकाले त्यसको समाधानका लागि राजदूतावासले गम्भीर रुपमा सोच्ने बताए । अहिले ई–पासपोर्टको व्यवस्था लागु भएपछि सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनैपर्ने भएकाले कागजी समस्याका कारण पोर्चुगलबाट पेरिस दूतावाससम्म आउन समस्या हुनेहरुका लागि दूतावासको टोली पोर्चुगल नै गएर सेवा दिने प्रतिवद्धता राजदूत अधिकारीले गरेका छन् ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पाको नेतृत्वमा गएको उक्त टोलीमा संघका वरिष्ठ उपाध्यक्ष बिनु बस्नेत, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिष्य समन्वय परिषदका केन्द्रीय सदस्य धनराज शेर्पा, नेपाली समाज पोर्चुगलका अध्यक्ष कुमार योञ्जन, प्रवासी नेपाली मञ्च पोर्चुगलका उपाध्यक्ष धनीराम पौडेल र शेर्पा किदुग पोर्चुगलका सदस्य कुङगा शेर्पाको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...