शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

62

सिन्धुपाल्चोक, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–४ चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ । म नेपाल सरकार एवम् मेरो तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, “विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ । भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा र गरेको छु ।”

शिक्षा क्षेत्रमा ठिक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने उनको भनाइ थियो । “समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो,” उनले भने, “शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो ।”

Share This:
सम्बन्धित खबर
Loading...