काठमाडौँ, २० माघ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी पंक्तिले जिम्मेवारी दिए राष्ट्रपतिमा जित्ने गरी लड्न आफू तयार भएको बताएका छन् ।
शुक्रबार बिहान सोल्टीमोड स्थित आफ्नै निवासमा काँग्रेस नेताहरुसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन् ।
छलफलमा सहभागी नेताहरुले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोा कांग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए । उक्त आग्रहपछि शर्माले त्यस कुरालाई आफूले गम्भीरता साथ लिएको बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
“साथीहरुले आग्रह गरिरहनुभएको छ। म सत्तामा कहिल्यै नभए पनि आम कार्यकर्ताको विश्वास ममा अझैँ छ । पार्टी पंक्तिले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने नाइ भन्ने कुरा हुँदैन । ५४ वर्षको राजनीतिक इतिहासको सुखद् अन्त्य हुन्छ। सबैको सहयोग भए म उभिन्छु । कांग्रेसलाई जिताउन हिँड्छु,” उनले भने ।
संसदीय निर्वाचनमा जहिल्यै जितविहीन भएका शुक्रराज कांग्रेसको अघिल्लो पुस्तामा सत्ता यात्रा नगरेका एक मात्र नेताका रुपमा चिनिन्छन् ।