काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
सिन्धुलीका युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकाले सोही नागरिकता पेस गरी दर्ता भएकाले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् । लामिछानेले गरेको निर्णयहरू अवैध हुने भएकाले तत्काल पार्टी खारेजको उनले माग गरेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने कामसम्बन्धी उल्लेख छ । जसमा राष्ट्रविरूद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्नेसम्बन्धी व्यवस्था छ ।
रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेको तर संविधानअनुसार यो पद नागरिक भइसकेपछि मात्रै प्राप्त हुने भएकाले त्यसअघि नै अनागरिक रहेको अवस्था रविले राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको आरोप पौडेलले लगाएका छन् ।
राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनुपर्ने उजुरीमा जिकिर गरिएको छ ।