काठमाडौँ, १२ माघ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो ।
दुई नेताहरूबीच पछिल्लो समसामयिक राजनीति, राष्ट्रपतिको निर्वाचन, प्रदेश सरकारलाई पूर्णतालगायतका विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोकिसकेको छैन ।
नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ ।
पुस १० गते बनेको गठबन्धनको सहमतिअनुसार राष्ट्रपति पद एमालेले लिने भएको छ । तर, पुस २६ गते नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री अलमलमा छन् ।
सात दलबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भए पनि कांग्रेसको पनि विश्वासको मत पाएपछि प्रधानमन्त्रीले यसबारे सहमति गरेर अघि बढ्न सकिने बताएका छन् ।
कांग्रेसले यसअघि नै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । उसले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विकमध्ये एकलाई उठाउने सम्भावना छ ।
तर, एमालेले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवारबारे कुनै निर्णय गर्न सकेको छैन । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरूङसहितको नाम चर्चामा छ ।