राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

120

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरिन् । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् ।

समारोहपछि राष्ट्रपति भण्डारीसँग भारतीय सेनाध्यक्ष नरवणेले शिष्टाचार भेट गर्दै आफूलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकामा कृतज्ञता व्यक्त गरेका थिए ।

भारतीय नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औं सेनापति हुन् ।

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधबार यहाँ आएका थिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा दुई देशबीच उत्पन्न असहज परिस्थितिको सुधारका लागि उनको भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।

नेपाली सेनाले उनको भ्रमणलाई दुवै सेनाबीचको परम्परागत सम्बन्धको निरन्तरताका रुपमा लिइएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नेछन् । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष नरवणे शुक्रबार नै स्वदेश फर्किनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...