काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पाँच वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
आजदेखि सुरू भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको भावना अनुरूप काम गर्न अनुरोध पनि गरेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै उनले भने, “नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्ड जीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना । नव नियुक्त मन्त्रीहरूलाई पनि बधाई ।”
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरूप यसको कार्यान्वयन अनिवार्य सर्त भएको उल्लेख गरे ।
संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानुन निर्माण गर्न बाँकी रहेको बताउँदै उनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरूपका आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औँल्याए ।