काठमाडौँ, २४ पुस । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले विशिष्ट ढंगले अगाडि बढाएको बताएका छन् ।
बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताए ।
एमाले नेपाली जनताको आकांक्षा र सपना पूरा गर्न सक्ने एकमात्र राजनीतिक शक्तिका रूपमा उभिएको उनले बताए ।
नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रदेशिक र संघीय निर्वाचनमा चौतर्फी घेराबन्दीका बाबजुद पनि एमालेले लोकप्रिय मत प्राप्त गरेको उनले महाधिवेशनमा बताए ।
एमालेले वामपन्थी दलहरूलाई एकजुट बनाएर सरकारको नेतृत्व गर्ने वर्तमान अवस्था सिर्जना गर्न जिम्मेवार भूमिका निर्वाह गरेको उनले बताए । “हामी राजनीतिक सहमति र व्यवस्थामा मात्र केन्द्रित छैनौँ, उच्च नैतिक र सांस्कृतिक मूल्य मान्यतामा आधारित नेपाली समाजको स्थापनामा केन्द्रित छौँ,” उनले भने ।
सन् १९९३ मा भएको बंगलादेश भ्रमणलाई स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले बंगलादेशले विगतका वर्षहरूमा गरेको उल्लेखनीय विकास उपलब्धिहरू देखेर खुसी लागेको बताए ।