माओवादीमा सरकार गठनबारे सबै विकल्प खुला रहने

50

काठमाडौँ, १७ मंसिर । नेकपा (माओवादी केन्द्र)मा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकपछि कुराकानी गर्दै महराले वर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताए । “बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,” उनले भने, “अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको छ ।”

बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए ।

उपाध्यक्ष महराले भने,“निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो ।”

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन सत्तारूढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहित अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ ।

माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । एमाले नेताहरूले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...