बागलुङ, १५ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताएका हुन् ।
“यसअघि गर्न नसकेका कामहरु पनि छन्,” उनले भने, “पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गर्छौँ ।”
संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए । “प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौँ,” उनले भने, “गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।”
चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकासमा समान वितरण हुने आश्वासन दिए ।
ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलुलाई प्रवर्द्धनलगायतका काम जनताको चाहानाअनुसार हुने बताए । “जनताका आवश्यकता धैरै छन्,” उनले भने, “जनताका चाहानाअनुसार विकास गर्छौँ ।”