काठमाडौँ, ७ मंसिर । चार पटकको विजेता जर्मनीलाई २–१ गोलले पराजित गर्दै जापानले कतारमा जारी फिफा विश्वकप २०२२ मा सानदार सुरूवात गरेको छ ।
खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु दोआन र ताकुमा आसानोले गोर गरे । जर्मनीका लागि इल्के गुन्डोगनले सात्वना गोल गरे ।
पहिलो हाफमा दुईतिहाइभन्दा बढी बल पोजिसन राखेको जर्मनीले अग्रता लिन भने पेनाल्टीमा भर पर्नु परेको थियो । खेलको ३३औँ मिनेटमा गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरे पनि त्यसलाई जर्मनीले अन्तिमसम्म बचाउन सकेन ।
दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि जापान खेलमा फर्कियो । आक्रमणमा ताकुमी मिनामिनो, रित्सु डोआन र ताकुमा आसानो आएपछि जापानले प्राप्त काउन्टर अट्याकमा नोएरलाई पटक पटक समस्या दिएको थियो ।
मैदान प्रवेश गरेको पहिलो मिनेटमै डोआनले गोल गर्दै जर्मनीविरूद्ध खेललाई १–१ को स्थितिमा ल्याइ पुर्याए । उनी ७४औँ मिनेटमा हिरोकी साकाईको स्थामा मैदान प्रवेश गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको ८३औँ मिनेटमा जापानले ताकुमी असानोको गोलमा अग्रता लियो । कोउ इताकुराले डिफेन्स लाइनबाट खेलेको लामो पासमा जर्मनीको अफसाइड ट्रयाप बिट गर्दै आसानोले गोल गरेका थिए ।
इन्जुरी समयमा लिओन गोरेट्जकाले गरेको प्रहार पोस्टभन्दा बाहिर जाँदा जर्मनी पहिलो खेलमा नै हार व्यहोर्न पुगेको हो ।
यस जितसँगै समूह ‘ई’मा जापानले ३ अंका जोडेको छ ।