काठमाडौँ, ७ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन् ।
पौडेलले १५ हजार २३७ मत ल्याएर विजयी भएको सो क्षेत्रका मतदान अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकान्त जोशीले जानकारी दिए । पौडेलका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले १० हजार १७५ मत प्राप्त गरेका छन् ।
पौडेलले पाँच हजार ६२ मतले पोखरेललाई पराजित गरेका हुन् । पौडेल पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् । सो क्षेत्रमा कुल ७० हजार नौ सय १९ मतदाता रहेकामा ४५ हजार ९७८ मत खसेको थियो । त्यसमध्ये ४४ हजार चार सय सात मत सदर भएको थियो ।
४७ वर्षीय पौडेल विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ (१) बाट न्यून मतान्तरले पराजित भएका थिए । पाँच वर्षपछि पौडेलले संसदीय राजनीतिमा अनुभव भएका एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गरेका हुन् ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पौडेल युवापुस्ताका आशालाग्दा नेता हुन् । राजनीतिप्रति गहिरो चिन्तन, सरल र प्रखर व्यक्तित्वले पौडेलको राजनीतिक यात्रालाई अहिलेको उचाइमा पुर्याएको जनाइएको छ