लाङटाङ पदमार्गका पर्यटकीय होटल बन्द

356

रसुवा । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि लाङटाङ पदमार्गका होटल मंगलबारदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनःसञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयौँ पर्यटकीय होटल तथा लज बन्द भएको हो ।

चिसोयाम बढेसँगै पर्यटकको ओहरदोहरले लाङटाङ क्षेत्रमा कोरोना संक्रमण बढ्न सक्ने आशंकाले केही महिनाका लागि होटल तथा लज बन्द भएको वडाध्यक्ष सुप्पा लामाले जानकारी दिए । रोग नियन्त्रणका लागि पदमार्गमा सञ्चालित होटल व्यवस्थापन समितिको निर्णयबाट रिम्चे, लामाहोटल, घोडातबेला, लाङ्टाङ, मुण्डु एवं क्याङ्जेनसम्मका सबै होटल तथा लज बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

दैनिक रूपमा ४० भन्दा बढी नेपाली र तीनचार विदेशी पर्यटक लाङटाङ घुम्न आउने गरेको वडाध्यक्ष तामाङले बताए । घुम्न आउने विदेशी पर्यटक भने नेपालमै बस्दै आएका छन् ।

जनस्वास्थ्य कार्यालय रसुवाका अधिकृत किरण श्रेष्ठका अनुसार स्वाब परीक्षणबाट पछिल्लो चरणमा धुञ्चे क्षेत्रमा कार्यरत सात राष्ट्रसेवकलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै उपचारार्थ आइसोलेसनमा छन् । जिल्लामा कोरोना रोगबाट प्रभावित ४५ जनाको उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...