काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छन् ।
उनले काठमाडौँ वडा नम्बर ९ स्थित बत्तिसपुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् । उनले भ्रष्टाचारीहरुलाई उनीहरुको कालो कर्तुत पर्दाफास गरी वर्षौँदेखि अनधिकृत रुपमा कुम्लयाएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनु पर्नेमा जोड दिइन् ।
यस्ता भ्रष्टचारीहरुलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोख्रेलले आग्रह गरिन् । कार्यक्रममा उनले अहिले देशमा बेरोजगारको ठुलो समस्या भएकाले त्यसको अन्त्यका लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताइन् ।
उनले संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकाले युवाहरुको पक्षमा आवाज उठाउन आफू संसद्मा पुग्नु पर्ने दाबी गरिन् । उनले आफूले चुनाव जितेमा दसैँ, तिहारजस्ता राष्ट्रिय चाडपर्वका दिन पनि आँशु पुछ्दै घर, परिवार छोडेर विदेशिनु पर्ने दिनको अन्त्य हुने बताइन् ।