सुमन सायमीले पाए लौरो चुनाव चिन्ह

361

काठमाडौँ, २७ असोज । काठमाडौँ क्षेत्र नम्बर ८ का उम्मेदवार सुमन सायमीले लौरो चुनाव चिन्ह पाएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका सायमीले हाम्रो नेपाली पार्टीसँग सम्झौता गरेर लौरो चिन्ह लिएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा सायमीले काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा उठेर मत प्राप्त गरेका थिए । यसपटक उनले प्रतिनिधिसभा सदस्यका लागि दाबी गरेका छन् ।

स्थानीय चुनावमा बालेन्द्र साह (बालेन)सँग प्रतिस्पर्धा गरेका सायमीले निर्वाचनको नतिजा आएलगत्तै बालेनको विजयी जुलुसमा सहभागिता जनाएर उनलाई बधाई दिएका थिए । अहिले उनी बालेनले पाएकै लौरो लिएर चुनावी मैदानमा खडा हुन आइपुगेका छन् ।

पछिल्लो समयमा काठमाडौँका अवैध संरचना भत्काउने बालेनको अभियानलाई भने सायमीले आलोचना गर्दै आएका छन् । सडक विस्तारलाई समर्थन जनाए पनि निजी सम्पत्ति भत्काउँदा क्षतिपूर्ति दिइनुपर्ने सायमीको मत छ ।

काठमाडौँ–८ मा महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर गरी ६ वटा वडाहरू समेटिएका छन् । साथै नागार्जुना नगरपालिकाका वडा नम्बर ४ र ५ पनि यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

गत स्थानीय निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले ७ हजार ४६७ मत पाएको थियो भने नेकपा (एमाले)ले ७ हजार ४४५ मत पाएको थियो । यस क्षेत्रमा बालेनको लौरोमा ६ हजार १४५ मत खसेको थियो । स्थानीय चुनावमा सायमीले यस क्षेत्रको ६ वटा वडाबाट ४ हजार ८४६ मत पाएका थिए ।

बालेन र सायमीले पाएको मत जोड्दा १० हजार ९९१ पुग्छ । स्थानीय चुनावको यो आँकडा हेर्दा काठमाडौँ–८ मा लौरो पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा देखिन्छन् ।

काठमाडौँ–८ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता एवम् बहालवाला मन्त्री जीवनराम श्रेष्ठ उठेका छन् भने एमालेको तर्फबाट शिवसुन्दर राज वैद्य उठेका छन् । यहाँ राप्रपाले प्रकाश रिमाललाई उठाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...