चौथोपटक भिड्दै लिङ्देन र सिटौला, कसले मार्लान् बाजी ?

131

काठमाडौँ, २५ असोज । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचमा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच चौथोपटक प्रतिस्पर्धा हुँदै छ । उनीहरू झापा क्षेत्र नम्बर ३ मा आमन्ने सामन्ने हुँदै छन् ।

सिटौला र लिङ्देनबीचको प्रतिस्पर्धा २०५६ को निर्वाचनदेखि हो । २०५६ को संसदीय निर्वाचनमा यी दुई नेताले झापा–१ बाट प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा सिटौला विजयी भएका थिए । सिटौलाले १७ हजार ५६१ मत ल्याउँदा लिङ्देनले ५ हजार ५२५ मत ल्याउँदै तेस्रो भएका थिए । उनी राप्रपाबाट उम्मेदवार थिए ।

यस्तै, दोस्रोपटक २०७० को दोस्रो संविधनसभाको निर्वाचनमा दुई नेता झापा–३ बाट प्रतिस्पर्धामा उत्रिएका थिए । यो निर्वाचमा पनि सिटौला १४ हजार ३५५ मत ल्याएर विजयी भए भने लिङ्देन ९ हजार २५३ मत ल्याए दोस्रो बनेका थिए । उक्त निर्वाचनमा लिङ्देन राप्रपा नेपालबाट उम्मेदवार बनेका थए ।

यसैगरी, यी दुई नेताबीच तेस्रो भेट २०७४ मा प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मै भएको थियो । अघिल्ला प्रतिस्पर्धामा आफ्नो स्थान सुधारेका लिङ्देनले यो निर्वाचनमा सिटौलालाई दोस्रो बनाएर आफू विजयी बने । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मत मात्र ल्याएका थिए । यद्यपि, लिङ्देनलाई तत्कालीन एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको समर्थन रहेको थियो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा यी दुई नेताबीच चौथोपटक प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । तर, २०७४ को निर्वाचनको राजनीतिक समीकरण र अहिलेको समीकरण भने फेरिएको छ । सिटौला वर्तामान सत्ता गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देन एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हुन् ।

तर, यो क्षेत्रको तथ्यांकको विश्लेषण गर्ने हो भने आउँदो चुनावमा पनि लिङ्देन सिटौलामाथि हाबी हुन सक्ने देखिन्छ । यसको बलियो आधार भनेको गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रभित्रका दलहरूले उठाएका वडाध्यक्षले प्राप्त गरेको मत हो ।

झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्दछ । यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपाक हुन् भने माओवादी तुलनात्मक रूपमा कमजोर स्थितिमा छ ।

यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा नेपाली कांग्रेस ठुलो दल देखिन्छ । यसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १५९ मत ल्याएका छन् भने एमालेका वडाध्यक्षका उम्मेदवारहरूले २० हजार ११३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्रलगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन् ।

उक्त मत परिणामलाई आधार मान्ने हो भने एमाले–राप्रपाकै गठबन्धन बलियो रहेको छ । यसले लिङ्देनको संसद् यात्रा दोहोरिने सम्भावना बलियो देखिन्छ ।

उत २०६२/६३ को आन्दोलनपछिको सरकारका गृहमन्त्री तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रिय व्यक्ति सिटौला भने अघिल्लो निर्वाचनको पराजयपछि लगभग मौन जस्तै छन् । सार्वजनिक वृत्तबाट करिब ओझेलमा परेका सिटौलालाई यो निर्वाचनबाट विजयी बनेर आउन भने लिङ्देन बलियो तगारो हुन सक्छन् ।

तर, यो सबैको छिनोफानेका लागि मंसिरको पहिलो सातासम्म कुर्नैपर्ने हुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...