काठमाडौँ, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएकी छन् ।
युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष महेश्वर गहतराज ‘अथक’ले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्वीकार गरेकी हुन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीसहित शीतल निवास पुगेका मन्त्री गहतराजले राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रण पत्रसमेत प्रदान गरेका छन् ।
असोज २८ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ । यस्तै, कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताका लागि सोमबारसम्म करिब ५५ सय खेलाडीहरूको नाम दर्ता भइसकेको छ ।