चाडपर्वमा वस्तु तथा मूल्यको स्वच्छता कायम गराउनु हाम्रो दायित्व हो : उपप्रमुख डंगोल

140

काठमाडौँ, ६ असोज । काठमाडौँ महानगरपालिकाले बजार पर्व लक्षित अनुगमन गर्ने भएको छ । बुधबार महानगरकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रूपमा अनुगमन गर्ने निर्णय गरेको हो ।

अनुगमनका क्रममा माछा, मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरू, गोदामहरू खसी बजार, तरकारी बजार हेरिने छ ।

बैठकमा बोल्दै उपप्रमुख डंगोलले पर्वमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अवाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्व रहेको बताइन् । “सूचकका आधारमा अनुगमन गरौँ । पूर्वाधार निर्माण, महानगरमा दर्ता हुने उजुरी तथा गुनासोसँग सम्बन्धित विषय महानगरले गर्नु पर्ने अनुगमनका क्षेत्रहरू धेरै छन्,” उनले भनिन्, “अहिले हामी दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजारलगायतका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।”

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जनताको दैनिक जीविकासँग सम्बन्धित क्षेत्रमा सरोकारवाला निकायसँगको समन्वयमा अनुगमन गर्नुपर्ने जोड दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक महेश भट्टराईले स्थानीय बजार व्यवस्थापनका लागि महानगरको नेतृत्वमा हुने कामलाई विभागले सहयोग गर्ने धारणा राखे ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को गाउँपालिका नगरपालिकाको अधिकारको बुँदा नम्बर (ञ)मा स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था छ । वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्त अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् ।

स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहमा दिइएको छ ।

काठमाडौँ महानगरपालिकाले २०७७ माघ २४ गते ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...