महिला साफ च्याम्पियनसिप : भारतविरूद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा
काठमाडौँ, १ भदौ । नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँचवटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
नेपालले महिला साफ च्याम्पियनसिपमा पहिलो पटक भारतलाई पराजित गरेको हो । मध्यान्तर अघिको खेलमा गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् ।
मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्धतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।
नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरेकी थिइन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेंगुका कारण खेल्न सकिनन् ।
नेपालले फाइनल खेल सोमबार बंगलादेशसँग खेल्ने छ । यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको हो ।