महिला साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश फाइनलमा
काठमाडौँ, ३१ भदौ । बंगलादेश राष्ट्रिय महिला फुटबल टोली दोस्रो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा बंगलादेशले दुवै हाफमा ४ गोल गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बलमा पकड जमाउँदै आक्रमण बुनेको थियो ।
बंगलादेशका कप्तान सविना खातुनले ह्याट्रिक गर्दै प्रतियोगितामा गोल संख्या ८ पुर्याइन् ।
दशरथ रंगशालामा खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लियो । मोसमत जाहान सोपनाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । खेलको १८औँ मिनेमा बंगलादेशले अग्रता दोब्बर पार्यो । कप्तान सविनाले मारिया मान्दाको पासलाई उत्कृष्ट फिनिस गरिन् ।
बंगलादेशकी श्रीमती कृष्णारानी सरकारले ३०औँ मिनेटमा गोल गर्दै ३–० को अग्रता दिलाइन् । ३–० अग्रता लिएको पाँच मिनेटपछि नै बंगलादेशले चौथो गोल गर्यो । उनको पहिलो प्रहार गोलरक्षक संगीता मोंगरले बचाएपनि रिबाउन्ड उनको खुट्टामा पुग्दा दोस्रो प्रहारमा गोल गरिन् ।
दोस्रो हाफको ५४औँ मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको दुई मिनेटपछि नै बंगलादेशले अर्को गोल थप्यो । सविनाले झन्डै २५ यार्डबाट प्रहार गरेको फ्रिकिक संगीताले फुस्काएपछि मसुराले दोस्रो प्रयासमा बललाई पोस्टको दिशा दिइन् ।
नियमित समय सकिन ४ मिनेट बाँकी रहँदा बंगलादेशकी तोहुरा खातुनले गोल गर्दै ७–० स्थितिमा पुर्याइन् । इन्जुरी समयमा कप्तान सविनाले ह्याट्रिक पूरा गर्दै टोलीलाई ८–० को फराकिलो जित दिलाइन् ।
यससँगै बंगलादेश सन् २०१६ पछि पहिलोपटक फाइनलमा पुगेको हो । जारी प्रतियोगितामा बंगलादेशले कुनै गोल खाएको छैन ।
आज हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल भिड्ने छन् । दुई टोलीबीचको विजेताले बंगलादेशसँग उपाधिका लागि खेल्ने छ । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरू हुने छ ।