काठमाडौँ, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।
साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका अलमुताइरीले फेसबुकमा लेखेका छन्, “५२५ दिन नेपाल फुटबलको सेवापछि आज आएर नेपाली राष्ट्रिय फुटबल टोलीसँगको यात्रा अन्त्य गरेको घोषणा गर्दछु ।”
अलमुताइरीको अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडीसँग समेत दुरी बढेको थियो । क्लोज क्याम्पमा रहेका १० खेलाडीलाई अल्मुताइरीले आफूसँगको व्यक्तिगत टसलका कारण निकालेका थिए । त्यसपछि अलमुताइरीसँगको विवाद झनै बढेको थियो ।
एसिया कप छनोटमा नेपालले कमजोर प्रदर्शन गरेपछि अलमुताइरी नेपाल फर्किएका थिएनन् ।
विवाद भएपछि एन्फाले नेपाली टोलीको निमित्त प्रशिक्षको रूपमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको थियो । हुमागाईंकै प्रशिक्षणमा नेपालले केही दिनपछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।
अलमुताइरीले पद त्यागको घोषणा गरेको भने यो पहिलो पटक होइन । यसअघि उनले सामाजिक सञ्जालमार्फत् पटक पटक पद त्यागको घोषणा गरेका थिए ।
कतार फुटबल संघको सहयोगमा अलमुताइरीले २०७७ चैतमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।